अविस्मरणीय कर्णाली र साना किसान

अविस्मरणीय कर्णाली र  साना किसान

कर्णाली प्रदेशको सुर्खेत जिल्लामा माननीय मुख्य मन्त्री महेन्द्र बहादुर शाहीद्धारा कार्यालयको भवन उद्घाटन र सँगै SKBBL का CEO डा. शिवराम प्रसाद कोइराला
समारोह २०७५ माघ ४ गते

     “अभियान” शब्द झट्ट सुन्दा “राजनैतिक” शब्द लाग्छ । मैंले यहाँ राजनैतिक कुरा गर्न खोजेको होइन । मैँले यहाँ यस्तो अभियानको बारेमा लेख्न खोज्दैछु, जुन अभियान आज मेरो लागि अविस्मरणीय छ, सायद यस अभियानमा २०३२ साल र त्यसपछीका समयकाल देखी लागिरहनु हुने अग्रज व्यक्तित्वहरुको लागि पनि अविस्मरणीय नै रहन सक्छ । म यहाँ यस्तो अभियानको बारेमा लेख्दैछु, जुन नेपालको इतिहासमा पहिलो सामुहिक कार्यको थालनी भएको अभियान, विशुद्ध सहकारी अभियान, कृषिको अभियान, किसानको अभियान, गरीबीलाई निर्मूल पार्ने अभियान, नेपाली मोडलको लघुवित्त अभियान, कृषिमा यान्त्रीकरणको अभियान । हो, यस्तै यस्तै उपनाम दिन मन लाग्छ, यो अभियानलाई । अनि यस्तै अभियानहरुको सयुक्त रुप हो , “साना किसान अभियान” । 
यही अभियानमा आजको दिन सम्म  ७ वर्ष भएछ, आफ्नो शारीरीक र मानसिक शाक्तिको प्रयोग भएको । यही अभियानको शिलसिलामा आज प्रत्यक्षरुपले कर्णालीका सदस्यहरुसँग भलाकुसारी गरीरहेको छु, कसरी हुन्छ, साना किसान अभियान सफल पार्न लागिरहेको छु । अब अभियानमा आउने समस्याको त कुरै नगरौँ, कर्णालीका जिल्लाहरुमा । भौगोलिक विकटता, विकासका पूर्वाधारहरुको अभाव त्यसमा पनि शिक्षा र जनचेतनाको अभाव देख्दा लाग्छ, यो अभियान के सफल होला र ? निर्धारीत गरेको लक्ष्य कसरी प्राप्त गर्न सकीएला र भन्ने भाव मनमा नआउने होइन  तर पनि अभियान सफल बनाउन अगाडी बढीरहेको छु ।  । 
कर्णाली प्रदेशमा जिम्मेवारी लिएर आउँदा शुरुका दिनमा कति गाह्रो र अफ्ठ्यारो थियो भन्ने कल्पनै नगरौँ । भौगोलिक विकटता, नौलो परिवेश, फरक सामाजिक जिवन, फरक भाषा र संस्कृती यस्तै यस्तै कुराले अभियान संलग्न हुन  किन आएछु, भन्ने महशुस हुन्थ्यो । तर पनि यहाँका साना किसानहरुको सहयोग र हाम्रो टिमको साथ सपोर्ट र सहयोगले केही सफलता भएको महसुस हुन्छ, आफूलाई । अनि चिन्ता लाग्छ पछीका दिनहरुमा यो अभियानमा समस्या नआवस भनेर ।  सुर्खेतको पश्चिम भाग त्यस्तै गरी कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमका कु–प्रथाहरु, त्यहाँको भौगोलिक विकटता, राजनैतिक, सामाजिक र आर्थीक अवस्था, अनि चेतनाको अभावको बिचमा काम गर्नु त्यती सहज छैन ।  तर आफ्नै देशमा त्यस्तो अवसर पाउने म जस्तो पनि कमै होलान् जस्तो लाग्छ, त्यसैले त उर्जाका साथ कर्तव्यपथमा लागिपरीरहेको छु । सुर्खेत पश्चिमको छाउपडी, छुवाछुत र धामी झाँक्रीको विश्वासले मन भत्तभत्ति पिरोलिएको छ । फोहोर फाल्ने कुचोले आज धामीको नाममा छट्पट्टीएको बालकको शरीर बढारेर उपचार भइरहेको छ । त्यही प्रत्यक्ष गएर शिक्षा दिनुपर्ने बेलामा छाउपडीका घरहरु भत्काइएका छन् । त्यसको विपक्षमा बोल्दा “तपाईलाई के थाहा छ सर? तपाइ नयाँ मान्छे”, भन्ने जवाफ आउँछ । त्यहाँ आफैँ अशिक्षीत भईन्छ । अनि मन भित्र भित्रै पोल्नु शिवाय केही उपाय छैन । छिमेकी सँग कुरा गरौं वा जनप्रतिनिधी सँग, तर कुरा गरेर के नै हुन्छ र ? तिनीहरु पनि त्यही संस्कारबाट हुर्कीएका छन् । उता कालिकोटमा सडकको अभाव अनि NGO/INGO ले पैसा बाँड्छ भन्ने आशा, कार्यक्रममा मासु र भात खान पाइन्छ भन्ने आशा । विचरा तिनीहरुलाई के थाहा, हामी दिन होइन सिकाउन गइरहेका छौँ भन्ने कुरा । अनी यहाँका जिल्लाहरुमा ब्याजदरको नाममा मिटर ब्याजको शोषण खै कसरी व्यख्या गर्नु ? बेला बेला त लाग्छ टाठोबाठो कै संसार रहेछ । टाठोबाठोले सहयोगको नाममा ति गरीबहरुलाई गरेको शोषण कहीले अन्त्य हुने हो थाहा छैन । तर लाग्छ त्यस्ता समस्याहरुमा सहयोग गर्ने एउटा पाटो साना किसान अभियान पनि हो । जाडोमा कपडाको अभाव छ, गर्मीका सिंचाईको लागि पानिको, अनि टाठाबाठालाई बजेटको । समाजमा बालविवाहको दर्दनाक अवस्था,  घर वरीपरीको सरसफाईको अभाव यस्तै यस्तै छ यहाँ, कक्षा १० पढेको मान्छे गाउँमा कमै भेटीन्छन् । उनीहरुलाई भेट्नका लागि भारतका विभिन्न शहरहरुमा पुग्नुपर्छ अनी त्यही शहरबाट फर्कदा विभिन्न रोगहरु लिएर आइरहेका छन्, तिनीहरुबाट निर्दोष परिवार आज समाजको लागि घृणाको पात्र बनेको छ । घरमा खेतबारी बाँझै छ । भेरी, कर्णाली र तिला जस्ता नदीहरु जमीन नजीकैबाट हाँसी हाँसी कुदीरहेका छन्, अनी त्यही ५०० मिटर नजीकको खेतको माटो पानि नपाएर छट्पटाइरहेको दृश्यले विकास गर्ने नेतृत्व, अगुवाहरु प्रर्ति  लाज लागेर आउँछ । अनी हामी उत्पादन, यान्त्रीकरण र बजारीकरणको ठूला ठूला कुरा गर्छौँ । आज सुत्केरी भएको महिलाले भोलिपल्ट पानिको भारी बोकेर हिँडेको दृश्य, ६ वर्षीय बालिकाले पानि भरेर बोकेको दृश्य, छोरा जन्मदा  परिवारमा रमाइलो गरेको दृश्य, सहकारीमा लाग्दा पुरुषको अनुमति लिनुपर्ने बाध्यता आफ्नो डायरीमा टिपोट र क्यामेरामा कैद नगरी चित्तै बुझ्दैन । अनि हामी कुरा गर्छौँ महिला हिंसा, सबैका लागि शिक्षा र सबैको लागि स्वाथ्य उपचारको । फेरी यस्तो दृश्य सबैलाई देखाउननी मन लाग्दैन, मेरै माटोकोे यो पिडा अरुलाई शेयर गरेर नी तत्काल समाधान हुन्छ जस्तो मलाई लाग्दैन । अनी विचरा !, कसरी बसेका होलान् है ? "So Sad", "Oh! My God" भन्ने जस्ता भावनात्मक शब्दहरु मात्र व्यक्त हुन्छन् । अनि ति शब्द पढ्यो र त्यही विलाएर जान्छ । 
यस्तै समस्याहरुको बिचमा संघर्ष गरेर लागिरहनु हुने मेरा अग्रज सरहरु र मेरा साथीहरुको आँट र हिम्मतलाई सम्मान गर्न मन लाग्छ । बाटोघाटो र यहाँको मान्छेको असान्र्दभीक व्यवहारको पर्वाह नगरी अभियानमा लाग्नुहुने साथीहरुलाई बिर्सन त्यती सहज छैन । त्यसैले यो अभियान साँच्चै अविस्मरणीय छ । यो अभियानले गर्नु धेरै छ, सोही लक्ष्यअनुसार सबै निकायहरु लागिपरिरहेका छन् । त्यसैले गर्व पनि लाग्छ अभियानमा काम गर्ने अवसर पाएकोमा ।
  अर्को तर्फ, सबै ठाउँ यस्तै छन् भन्न खोजेको होइन, अन्य प्रदेशको तुलनामा अलि बढी भएको छ यहाँ । तर पनि म एउटा कुरामा विश्वस्त छु, आज नहोला भोली पक्कै हुन्छ यो सुन्दर कर्णाली प्रदेशको समस्यामा सुधार । त्यसको लागि एकता र सहकार्यको आवश्यकता छ, त्यो एकता र सहकार्य “सहकारीता” मा छ अनी त्यै सहकारीताको भावना साना किसान अभियानमा छ । कर्णालीको कृषिमा आधुनिकीकरण गर्ने क्षमता यही अभियानमा छ । बस् यहाँका सदस्यहरुमा सकरात्मक धारणाको विकास गराउनु छ । आशा छ यसले परिवर्तन ल्याउनेछ अनि एक दिन यो प्रदेशमा हामी पक्कै सफल हुनेछौँ । हाम्रो अभियानले सार्थकता पाउनेछ । हाम्रो मेहनत निरन्तर रहनेछ । साना किसान अभियान मार्फत महिला नेतृत्व विकास भएको, महिला हिसांको न्युनीकरण भएको, आर्थिक कृयाकलापमा महिलाको संलग्नता वृद्धि भएको, न्युन स्तरको रोजगारीका लागि भारत जाने प्रवृतिलाइ उल्लेख्य कमी भएको, कृषि उत्पादनमा व्यावसायिकता भएको र सो बजारीकरणमा सदस्य लागी परेको, मजदुरी गर्न भारत तिर जादै गरेका बावुआमा संग हात समाएर जाने गरेका बालबालीका, त्यसै गरि हात समाएर स्कुल जादै गरेको, समग्रमा अरुले दिएर मात्र हुदैन, आप्mनो भाग्यविधाता हामी आफै हो भन्ने उर्जावान समुदाय निर्माण भएको देख्नका लागि यो अभियान र हामी जस्ताको प्रयास आवश्यक छ ।  परिवर्तन सम्भव छ, हाम्रै पालामा । जय सहकारी । जय साना किसान ।

                                                            

Comments