विश्वभर कोरोना कहर, अपुरो राराको रहर

 विश्वभर कोरोना कहर, अपुरो राराको रहर

        कोभीड महामारीले विश्वलाई चुनौती दिइरहेको छ, कोभिड कै कारण विश्व एकै पटक लकडाउन हुने अवस्थामा पुगेको यथार्थता हामीलाई अवगत नै छ । अब कोभिडले महामारी कै रुप लिएता पनि कोभिड छ भनेर काम नगरी बसीरहने कुरा पनि भएन । कार्यालयकै कामको शिलसिलामा कालिकोट, मुगु र जुम्ला जाने योजना कार्यालयबाट जानकारी भयो । त्यो कार्यका लागि कार्यालयबाट ५ जना जाने कुरा छोटो समयमा निश्चित भयो ५ दिनको लागि । यस अघी कार्यालय कै काममा कालिकोट जिल्ला त पुगिसकेको थिएँ तर मुगु र जुम्ला भने पहिलो पटक जाने तयारीमा थिएँ । अघिल्लो दिन सावधानी अपनाएर जाने र केही खानेकुराहरु समेत लिएर जाने कुरा भयो । हामी जाने कुरा गर्दै गर्दा पूर्वमा पानि परिरहेको थियो भने मौसमको सूचनाअनुसार केही पहाडी जिल्लाहरुमा पानी पर्ने सूचना हामीले प्राप्त गरेका थियौँ । पानी परेको अवस्थामा कर्णाली राजमार्गमा पहिरो गएर बाटो बन्द हुने विषय त सामान्य नै हो । त्यसैले हामीले केही खानेकुराहरु र पानीको व्यवस्थापन गर्नुका साथै महामारीको समयमा चाहीने आवश्यक सुरक्षा सामग्रीहरुको पनि व्यवस्थापन ग¥यौँ ।

        सुर्खेत वीरेन्द्रनगरको चौडा सडकबाट बाङ्गेसिमल हुँदै कर्णाली राजमार्ग सुरु हुन्छ । बाङ्गेसिमलबाट सुरु कर्णाली राजमार्गलाई मृत्युमार्गको उपनाम पनि दिने गरेको पाईन्छ ।  साँघुरोबाटो भएकोले साना गाडीहरु दैलेखको बाटो हुँदै तल्लो ढुङ्गेश्वर भएर कर्णाली राजमार्गमा जोडीने गर्छन् । हामी पनि विहानको करीब ७ः४५ बजे दैलेख निस्कने राजमार्ग हुँदै कालिकोटको मान्मा तर्फ प्रस्थान ग¥यौँ 🚔। अब हाम्रो यात्रा सुरु भयो । दैलेखमा रहनुहुने सरलाई दैलेखको सियाकोटको मोडबाट गाडीमा चढाउने योजना बनाई वहाँलाई त्यहाँ आउन भनी जानकारी गराईयो । हामीले वीरेन्द्रनगर नगरपालिका सकीसकेपछी दैलेखको गुँरास गाउँपालिकाको माटोमा गाडीका टायरलाई टेकाई यात्रालाई निरन्तरता दियौँ । विहानको १०ः१५ मा हामीले योजनाअनुसार सियाकोटको मोडमा सरलाई रिसिभ ग¥यौँ । अब हाम्रो टिम पूरा भयो । 

टिममा गाडी भित्र रहँदा ५ जना सरहरुको कामलाई यसरी विभाजन गरीएको थियो । एक जना सर फोटो खिच्नलाई एकदमै मनपराउने हुनुहुन्थ्यो, फोटो को जिम्मा चाँही मेरो भन्ने विषयलाई वहाँले सहजै स्वीकार गरीसक्नुभएको थियो । अर्को एक जना सरलाई गाडीको गुरु जी लाई सहयोग गर्ने गरीको जिम्मा दिइएको थियो । खराब बाटो भएकोले पहिरोमा ढुङ्गा समेत पन्छाउने जिम्मा वहाँलाई थियो😊। अर्को सरलाई अंग्रेजीमा भ्रमणको विषयमा व्याख्या गर्ने जिम्मेवारी तोकीएको थियो । वहाँ अंग्रेजी सिक्न खोज्ने मान्छे भएकोले वहाँले नै त्यो कुरा म गर्छु भनेर भन्नुभएको थियो । वहाँको अंग्रेजी पनि गज्जब कै हुन्थ्यो । एकै पटक ३/४ वटा भाषा प्रयोग गरीदिनुहुन्थ्यो ।  अनी म चाँही देखीएका ठाउँ र वस्तुहरुलाई मेरा डायरीमा टिपोट गर्न व्यस्त थिएँ । अनी अर्को सरले समग्र यात्रा र कार्यालयको कामको निर्देशन दिने गर्नुुहुन्थ्यो । यसरी ५ जनाको टिममा ५ जनाकै आ–आफ्नै प्रकारको काम विभाजन गरीएको थियो । भने मनोरञ्जनको जिम्मा चाँही आवश्यकता अनुसार सबैलाई थियो ।


  विहानको ११ः०० बजे हामी डुङ्गेश्वर गाउँपालिका अन्र्तगत तल्लो डुङ्गेश्वर पुगि कर्णाली राजमार्गसँग भेट भयाैँ । अनी त्यही  खाना खाई केही फोटो लिई हाम्रो यात्रालाई निरन्तरता दियौँ । अब हामीले गाडीमा सबैले गित गाउँदै यात्रालाई रोमाञ्चक बनाउन थाल्यौँ । पूर्व र पश्चिमका साथीहरु भएकोले कसैले पश्चिमेली देउडा त कसैले पूर्वेली भाकामा गित गाउँदै कर्णाली नदीको तिरैतिर यात्रा निरन्तर रहीरह्यो । कर्णाली राजमार्ग अन्र्तगत दुल्लु नगरपालिकाको सडकखण्डमा पुग्दा पानी पर्न थाल्यो ☔। कर्णाली राजमार्गमा २ प्रकृतीकाे माैसममा गाडी चलाउन एकदमै जोखीम हुन्छ ः १) पानी परेको समयमा २) जाडो मौसममा हुस्सु भएको समयमा । जोखीमकै बिचमा गाडी नचलाइ सुखै थिएन । त्यही राजमार्गमा लामो समय गाडी चलाउनु भएको गुरुजी हनुभएकोले म चाँही अली ढुक्क महसुस गर्थे । हामी कर्णाली नदीको किनारका दृश्यहरुलाई अवलोकन गर्दै बीचबीचमा गाडी रोकेर फोटो खिच्दै, ती ठाउँहरुमा आफूले काम गर्ने संगठन विस्तारको विषयमा चर्चा गर्दै, देउडा भाखामा साथीहरुले गित गाउँदै, गाडीमा राखीएका खानेकुराहरु चपाउँदै हामी दैलेखको दुल्लु नगरपालीका अन्र्तगतको सडक खण्ड हुँदै दैलेख कै चामुन्डाविन्द्रासैनी नगरपालिका र आठविसकोट नगरपालिकामा पर्ने कर्णाली राजमार्गमा गाडीलाई गुडाउँदै मध्यपहाडी राजमार्ग  अन्र्तगतको मुख्य शहर राकम कर्णाली हुँदै नेपालको हिमाली जिल्ला कालिकोटकाे शुभकालिका गाउँपालिका प्रवेश गर् याैँ । अब हामी कालिकोट जिल्लाको दृश्यलाई अवलोकन गर्न सुरु गर्छाैँ।
         हाम्रो टिमको सबैभन्दा कान्छो साथी क्यामेरामा फोटो खिच्न मै व्यस्त छन् कालिकोटको दृश्यहरुको । हामी करीब ३ः०० बजे कालिकोटको खाँडाचक्र नगरपालिका प्रवेश गरेपछी जाममा पर्यौँ । कर्णाली राजमार्गको साँघुरोबाटोमा गाडी चालकहरु पनि जर्बरजस्ती २ वटा गाडी कटाउने बहादुरी देखाउँदा गाडी जाममा पर्यो । करीब १ घण्टाको निरन्तर प्रयास पछी बल्ल तल्ल हाम्रो गाडी त्यो जामबाट फुत्कीन सफल भयो । कर्णाली राजमार्गको जोखीम को त खै के कुरा गर्नु र र ? गाडि  कुँदीरहँदा माथिबाट ढुगांहरु झरेर गाडीलाई नै किच्ने हुन् की भन्ने डर, बिग्रीएको बाटोमा एक साइडबाट गाडी कुदाउन भन्दा कर्णाली नदीमा नुहाउन पुगिन्छ की भन्ने  डर, अर्को साइडबाट कुदाउन भन्दा झरेका ढुङ्गा र पहिरोहरुमा गाडी ठोक्कीने डर । त्यसैले कर्णाली राजमार्गलाई यस्ता उपनामहरु दिन मन लाग्छ ः कर्णाली राजमार्ग=साँघुरो राजमार्ग, मृत्यु राजमार्ग, जोखीम राजमार्ग, यस्तै यस्तै । आशा छ बहुमत सरकारकै पालामा यस राजमार्गकोे स्तरोन्नती हुनेछ ।

हिमाली जिल्ला कालिकोटमा समेत निरन्तर वर्षा भएको देखेर गन्तव्यमा नपुगिने हो की भन्ने डर लाग्न थाल्यो । निरन्तरको वर्षाले जाडो भई शरीरमा काँडा पो उम्रन्छन्की जस्तो महसुस भयो । अब हामी कर्णाली नदीको किनारलाई छोडी तिला नदीको किनारै किनार कालिकोटको सदरमुकाम मान्मा तर्फ लाग्छौँ । बर्षात् र बाटोको कारण हामीले बनाएको योजना अनुसार काम नहुने देखियो । सिमसिमको पानी, चिसो मौसममा भत्कीएको सडकमा गाडीलाई गुडाउँदै हामी बेलुकाको ७ः०० बजे कालिकोटको मान्मा पुगी त्यस रात त्यही होटलमा बास बस्यौँ । सुत्ने बेलामा सिमसिम पानीको कारण मुगु जिल्लामा पुगेर रारा हेर्ने धोको पुरा हुँदैन की क्या हो भन्दै कुरा गर्दै वेडमा ढल्कीयौँ । त्यतीकैमा भुसुक्कै निदाइएछ । 

    भोलि विहान उठ्दा फेरी सिमसिम पानी परीरहेको छ । बिहानै कार्यालयको कामलाई प्राथमीकता दिई काम सकेर केहीबेर मान्मामा रहेको रासकोटी राजाको दरबारको भग्नावशेषको अवलोकन गरी हामी त्यही होटलमा खाना खाई मान्माबाट संस्थाका दुई जना साथीहरुलाई पनि सँगै लिएर गयौँ । अब हाम्रो टिम ७ जनाको भयो । पानी परेको समय कालिकोटको मान्माबाट कालिकोटको नाङ्गमा (जुम्ला जिल्ला र कालिकोट जिल्लाको सिमाना नाङ्गमा) तर्फको पिच बाटोको बारेमा यहाँ लेखेर साध्यै छैन । बेलाबेलामा हाम्रो यात्रामा अंग्रेजी बोल्ने सरले बाटोको बारेमा गरेको व्याख्याले गाडी भित्रै ठूलै हाँसो ल्याउँथ्यो । वहाँको अंग्रेजी ःThis death highway too much बीग्रीङ्ग😀😀, यस्तै यस्तै...... बेला बेला हँस्यौली च्यानीज भाषा पनी । रमाइलो थियो भाषा ।।।

यात्रा गरीरहँदा त्यो कर्णाली र तिला नदीको किनारमा रहेको मनोमोहक बस्तीले एकछिन मन लोभ्याउँछ । कलकल बगीरहेको कर्णाली र तिलाको पानीले उनीहरुकाे फुटो खिचीदिन हामीलाई आग्रह गरेजस्तो अनुभुती भइरहने, अनी हामी पनि के कम र ? झट्ट क्यामेरा निकालेर गाडीलाई विस्तारै कुदाउन लगाएर गाडीबाटै पोज पोजमा नदीमा बगीरहेको पानीहरुको फुटो खिच्दै, फुटोलाई प्रीभिउ गरी क्यामेराबाट हेर्दै, अनी बेलाबेला बाटोको पिडाले राजनीतिक नेतालाई दोष दिँदै सराप्न पनि पछी परेनौँ हामी । अनी लाग्छ यस्ताे स्वर्ग जस्तो ठाउँ देशमा कुशल शासक र कुशल प्रशासक नभएकै कारण विकट नामको Identity Card लगाउन बाध्य भएको छ । तर........कर्णालीलाइ विकटको परीचय विल्कुल सुहाउँदैन । कर्णाली नेपालको सबैभन्दा विकसीत ठाउँ हो, हाम्रा माननीय ज्यूहरुको सोच मात्र विकट हो । यो मैँले किन भने भन्ने कुरा तपाईहरुलाई पनी थाहा छ, कीनकी देशका सबैले कर्णालीको सम्भावनालाई पढेका छन् तर कमैले मात्र बुझेका छन्, अरु धेरै भन्न चाँहीन । 

ए साँच्चै हामी त मान्माबाट अगाडी पो बढ्दै थियौँ त......... । मान्माबाट हाम्रो ७ जनाको टिम अगाडी बढ्दै जाँदा सडकमा बाघले आफ्नो शिकारलाई बाटो छेके झैँ ढुङ्गाले हामीलाई बाटो छेकीरहेको थियो । अब अगाडीको सिटमा बस्ने सरको काम आयो ढुङ्गा पन्छाउने । त्यसपछी हामी अगाडी बढ्यौँ । यसरी अगाडी बढीरहँदा कालिकोटको खाँडाचक्र नगरपालिका अन्र्तगत पर्ने ठाउँहरुको नाम यस्तो थियो ः ताडी बजार, राताडाब, तेस्रो बजार, मल्फा बजार (कार्यालयको काम गरी नास्ता खाएको ठाउँ) हुँदै पिली बजार पुगियो । अब छोटो कुरा गरौँ पर्यटकीय स्थल पिली बजारको । दश वर्षे जनयुद्धको अन्तीम युद्ध पिली युद्ध (२०६२ श्रावण २३ गते) को युद्ध क्षेत्र जहाँ करीब ८ घण्टासम्म निरन्तर बम र गोलीहरु बर्सीएका थिए, आकाशबाट गोलीहरु बर्साइएका थिए, बम पड्काइएका थिए, यही युद्धपछी १० वर्षे जनयुद्धमा पूर्णबिराम लागेको थियो । यहाँ दर्जनौँ नेपालीहरुको हाताहाती भएको थियो । यही ठाउँलाई हाल संरक्षण गरेर डाँडा (युद्धको बेला सैनीक ब्यारेक भएको ठाउँ) सम्म पुग्ने सिँडी बनाइ राखीएको छ, जुन सुर्खेत–जुम्ला रोड मै पर्दछ । 

पिलीबजार पछीका ठाउँहरु तिला नदीको आकर्षक र मनोमोहक दृश्य देखिने शेरावडा हुँदै टाकुल्ला, बालीघाट, भैँसीगौडा, टिम्मुरे हुँदै गाल्जे पुगियो । हो यही गाल्जे सम्म केही महीना अघी म मोटरसाइकलमा आइ त्यहाँबाट करीब ४ घण्टा रातीको बाटो हिँडेर चिलखैया पुगेको झल्झली याद आयो । यही गाल्जे नजीकै पहिरो गएर बाटो भत्कीएको रहेछ । ठूला गाडीहरु जान नसकेर रोकीएर बसेका रहेछन् । तर साना गाडी भने जोखीम मोलेरै गुडेको पाइयो । त्यो पहिरो गएको ठाउँको अवस्था अझै झल्झली छ । त्यहाँ त सानो गाडी जान्छ भनेर त्यहाँ हुनेहरुले गुरुजीलाइ इसारा गरे । तर ठाउँ देखेपछी मन भड्कीयो । ओर्लने तरखर गरीयो । हाम्रो टिमको क्यामेरामेन😄 त हत्तनपत्त ढोका खोलेर ओर्लीहाले । त्यसो गर्दा गुरुजी डराउनुपर्दैन बस्नहोस् भन्नुभयो । गाडीबाट ओर्लदा झन् गाडीको ब्यालेन्स नमीलेर नियन्त्रण गर्न गाह्रो हुने रहेछ । फेरी क्यामेरामेन सर गाडीमा बस्नुभयो । गाडी अगाडी बढ्यो जब जोखीम ठाउँमा पुगेर गाडी त्यो ठाउँ कट्नलाई संघर्ष गर्दा हल्लीएको बेला आङ पुरै सिरीङ्ग भयो । हाम्रो अंगे्रजी सरले मलाई समात्नुभएको त थाहा नै पाइन । एकछिन त हामी सुनसान जस्तै भयौँ । त्यो जोखीम कटेपछी त यसरी ब्लगमा यात्रा लेख्न नि पाईँदैन की जस्तो भयो, अनी पछी फर्कदाचाँही अर्को बाटो आउन पाए हुन्थ्यो जस्तो भयो । तर हामीसँग अरु बाटोको त विकल्पै थिएन । 


यसरी नै यात्राको क्रममा हामी राँचुली, भिग्मा हुँदै जुम्ला र कालिकोटको सिमाना नाङ्गमा पुग्यौँ । नाङ्गमामा कार्यालयको निरीक्षणको काम गरी केही दिन अघि नाङ्गमामा गएको पहिरोलाई गाडीबाटै  अवलोकन गर्यौँ  जहाँ १० जनाको ज्यान गएको थियो । अब हामी मुगु तर्फको यात्रा तय गर्यौँ । त्यतीबेला सम्म बेलुकाको ४ः०० बजीसकेको थियो । कालिकोटको नाङ्गमाबाट जुम्ला बजार र मुगुतर्फ जानेबाटो छुट्टीदोँरहेछ । नाङ्गमामा पुग्दा पानी सिमसिम पर्न छोडीसकेको थियो । त्यसैले हामी राराको गन्तव्य सम्म पुग्छौँ भन्ने लागेको थियो । तर गुरुजीले बाटो खराब भएको छ, जान सकीँदैन भन्ने कुरा गरीरहनुभएको थियो । तर पनि हामी गुरुजीलाई आग्रह गरीरहेको थियौँ । कालिकोटको नाङ्गमाबाट हामी जुम्ला जिल्लाको हिमा गाउँपालिका हुँदै अगाडी बढ्यौँ । जुम्ला जिल्ला कर्णाली प्रदेशको मेरो लागि सातौँ जिल्ला थियो । जुम्लाको बारेमा अध्ययन गरेको मात्र थिएँ । यसरी प्रत्यक्ष आएर स्याउको बोटमा फलेका फलहरुको दृश्य र यहाँकाे भुगोललाई नियाल्दा साँच्चै आनन्द अनुभुती भइरहेको थियो । यात्रा अगाडी बढीरहँदा सिमसिम पानी फेरी पर्न सुरु गर्यो । बाटो एकदमै हिलो भएको रहेछ । केही बेर पछी हामी चिउडी साँघुको काठेपुलमा आइपुग्यौँ । काठैकाठले बनेको त्यो पुलमा पूर्वराजा वीरेन्द्रको सबै परिवारको मूर्तीहरुले रङ्गीएको काठैकाठबाट निर्माण भएकाे पूल रहेछ । याे सिंजा क्षेत्रमा पर्ने रहेछ । यसलाई ऐतीहासीक जुम्ला राज्यको राजधानीको रुपमा चिनिँदाेरहेछ भने नेपाली भाषाको उद्गमस्थलका रुपमा समेत चिनीन्छ । यसरी जुम्लाको स्याउका बोटहरुमा स्याउका दानाहरु, जुम्लाको सिमी, ओखरका बुटाहरु, नदी किनारका बस्तीहरु, हरीयो डाडाँ र रुखहरु, चउरमा चरीरहेका भेडा र च्यांग्रााहरु हेर्दै अफ्ठ्यारो बाटोलाई पन्छ्याउँदै हामी आचार्यलीही पुग्छौँ । आचार्यहरुको उत्पती भएको स्थल रहेछ आचार्यलिही ।  

    आचार्यलीहीबाट झनै विग्रीएको, भत्कीएको बाटोले गर्दा गाडीलाई अगाडी बढ्न निकै नै गाह्रो भयो । त्यहाँ बाटोको मानिसलाई सोध्दा यो भन्दा अगाडी निकै नै खराब बाटो भएको कुरा जानकारी भयो । गरुजीले गाडी अगाडी लगेर रोकी ओर्लेर केही अगाडी गई बाटोको अवलोकन गर्दा जान नसक्ने कुरा भन्नु भयो, अब हामी सबै जनाको मलिन अनुहार भयो । रारा पुग्ने इच्छा अपुरो भयो । केही विकल्प सोच्यौँ । नजीकैको नाराकोट गाउँमा बसेर भोली अली ठूलो गाडीमा भएपनि जान सकीन्छ की भनेर केही व्यक्तिहरुलाई बुझ्यौँ । तर ठूलो गाडी हामीले पाउन सकेनौँ । बेलाबेला त एक दिन नै लागे पनि हिँडेर जाउँ भन्दै सल्लाह गर्यौँ । त्यो बेला सम्म साँझको ६ः०० बजीसकेको थियो । करीब आधा घण्टा न्यास्रो भएर छलफल गर्यौँ, विकल्प खोज्यौँ तर सबै असफल 😭। अब ठूलो सास फेर्दै गाडीमा चढी फर्कीयौँ नाङ्गमातिर । बेला बेला मौसमलाई गाली गरीरहेका थियौँ । अब हामी जुम्लाबजार गई बस्ने र भोलीपल्ट त्यहाँ कार्यालयको काम गरी वीरेन्द्रनगर फर्कीने योजना बनाई जुम्ला तातोपानीमा रातको ८ः०० बजे पुगतातोपानी पौडी खेली त्यही बास बसीयो  । 

    भोलीपल्ट कार्यालयको काम सकी सुन्दर गोठीचौर गाउँले रारालाई बिस्र्याउँछ भन्ने सुनी त्यही जाने भइयो, त्यहाँ पनि बिचबाटोबाट गाडी अगाडी बढ्न सकेन । अब चाँही पूरै रिस 😣उठ्न थाल्यो । अब हिँडेर जाँदा त्यो गाउँ पुग्न झन्डै ३ घण्टा लाग्ने रहेछ । अब मैँले आँट गरे जसरी भएपनि पुगेर आउने । अगाडी अगाडी हिँडिरहे । त्यतीकैमा हाम्रो टीममा हाम्रै अभियानको साथीको बाइक थियो । त्यो बाइकमा क्यामेरामेनलाई पु¥याएर ल्याउने म्यानेज भयो । अनी त्यसपछीे वहाँलाई छोडेर मलाइ लिन आउने योजना भयो । तर म निरन्तर हिँडिरहे । उकालोबाटो हिँड्दा पुरै थकीत भइयो । अरु साथीहरु भने आउनु भएन । पानीको बोतल गाडीमै छोडीयो । म हिँडी नै रहेँ, जसरी नी त्यो गाउँ हेरेर आउँछु भन्ने लागेको थियो । रारा नपुगे पनी त्यहाँ जसरी पनि पुगेर आउने योजना बुने । २ जना साथी त बाइकमा अगाडी गइहाल्नुभयो । म हिँड्दा हिड्दा मुख पूरै सुकीसकेको थियो । एउट सानो झुपडी जस्तो घर आयो । जुम्लाबासी घरको मानिसले मलाई  सोध्नुभयो अनी यस्तो कुराकानी भयो ः 

जुम्ला बासी ः कता हिड्याहुन सर ? 

मैंले स्याँ.... स्याँ.... हुँदै उत्तर दिएँ, ः गोठी चौर गाउँ । 

म ः  त्यो गाउँ पुग्न कति समय लाग्छ ?

जुम्ला बासी ः तपाइनलाई एकन घण्टा लाग्या हुन् ।

  मैँले वहाँको बोलीमा यस्तै खालको उच्चारण पाएको थिएँ ।  त्यसपछी वहाँहरुले मलाई एउटा पिरा बस्नलाई ल्याइदिनुभयो । पानी र स्याउ खान दिनुभयो । जुम्लाको रसीलो स्याउ खाँदै केहीबेर गफ गरेँ । पाहुनाप्रती वहाँहरुको सेवाभाव देखेर एकदमै खुसी लाग्यो । अनी केही स्याउ समेत बोकी वहाँहरुबाट विदा लिई गन्तव्यतर्फ लागेँ । बाइकमा साथी आउनुभयो, त्यसैमा चढी सुन्दर, रमणीय २८८० मिटरको उचाइमा गोठीचौर गाउँ पुगियो । ठाउँ ठाउँ मा जुम्ली मार्सीधान लहलह थिए । काट्ने समय भएको थियो । साँच्चै आनन्द आयो त्यो मनोमोहक दृश्यले । अनी मनमा लाग्यो हामी रारा गएको भए यो ठाउँलाई मिस गर्ने थियौँ । त्यसपछी पोज पोजको फोटोहरु लिई राम्ररी त्यस ठाउँको अवलोकन गरी फिर्ता भयौँ । थकान त कति हो कति ? सबै साथीहरु हामी ३ जनालाई कुरेर बस्नुभएको रहेछ । अब हामी गाडी चढी कालिकोटको मान्मा पुग्ने गरी हिँड्यौ ।  राती ११ बजे हामी कालीकोटको मान्मा पुगि बास बस्यौँ ।
    
     भोलीपल्ट खाना खाई वीरेन्द्रनगर फिर्तीको यात्रा सुरु ग¥यौँ । आउँदै गर्दा हामी दैलेखको ढुङ्गेश्वर गाउँपालिका नजीक आएपछी कार्यालयमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटीभ भएको खबर प्राप्त भयो । हामी सबै मौन भयौँ । एकछिन सबैको अनुहार मलिन भयो । अब कोरोनाले हामीलाई पनि आक्रमण गरेछ भन्ने अनुभुती भयो । गाडी केही बेर रोकी कार्यालयमा कोरोना पोजेटीभ भएको सूचना कार्यालयको सम्बन्धीत ठाउँमा जानकारी गराइ, मनमा केही डर बोकी सुर्खेत पुग्ने यात्रालाई निरन्तरता दियौँ । अफिसमै कोरोनाको केस देखिएपछी कन्ट्रयाक ट्रेसिङ्गमा परिहाल्यो । अब बाहीर खाना खाने हामी केही साथीलाई अफ्ठ्यारो पर्ने महसुस भयो । तर हामी अफिसबाट छुटेको ४ दिन भइसक्दा हामी कसैमा कुनै प्रकारका लक्षण थिएन । त्यसैले उच्च मनोबलका साथ हामी रातको ९ः०० बजे वीरेन्द्रनगर आइ भोलीदेखी कसैको सम्पर्कमा नजाने निर्णय गरी सजकता अपनाई बस्यौँ ।। केही दिन पछी कार्यालयका साथीहरुको  Corona Negative रीपोर्ट आयो । खुसी लाग्यो । आशा छ अपुरो रारा को रहर चाँडै पूरा हुनेछ.......................👍👍🙏 ।
😷Stay Safe😷
Facebook: parash_mishra@yahoo.com (मिश्र पारश)
Twitter : PmmMishra

Comments