मानिस र भाइरसबीचको युद्ध

मानिस र भाइरसबीचको युद्ध : अहिले हामी परिक्षाकाे फाइनल घडीमा छाैं, अहिले नगरे कहिले गर्ने ?

अहिले काेराेना भाइरस (काेभिड-१९) ले विश्वव्यापी कहालीलाग्दो त्रास र संकट निम्त्याएकाे छ । याे राेगका कारण अहिले औषतमा प्रति घण्टा करीब १३५ भन्दा बढीको मृत्यु भइरहेको छ । सबैलाई यसको पिडाले छोइरहेको छ, थाहा छैन कति समय सम्म हुने हो, यो मानिस र भाइरसबीचको युद्ध ।
नेपाल सरकार, तिम्रो सफलता देखाउने एउटा समय हो यो । तिमीले त्यही भएर आज आफ्नो मतलाई बचाउन काम गरिरहेका छौ । तर कामको गति सुस्त भइरहेको छ, हुन त कानुनी बाधाहरु होलान्, अब त्यो बाधाहरुलाई फुकाएर खरायो कुदेको गतिमा काम गर्नुपर्ने समय आएको छ । यसको लागि सबै जनता साक्षी छन् । संघीय सरकारले देश सफल हुन्छ भनेर देशलाई ७ वटा प्रान्तमा विभाजन गरियाे तर किन किन समन्वयको अभावले काम ढिलो भएको महसुस भइरहेको छ । कोरोनासँगको युद्धमा सरकार सफल भयो भने संघीयता सफल हुनेछ । नत्र हामीलाई संघीयता आवश्यक छैन । यो फाइनल परिक्षा हुन सक्छ । फेल भयौ भने चर्को आवाज उठ्न सक्नेछ ।    
आदरणीय स्वास्थ्य क्षेत्रका सम्पूर्ण व्यक्तित्वहरु, तपाईँहरुले गर्ने दिन आएको छ अब । यसभन्दा अगाडी गर्ने धेरै निस्किएका थिए । अहिले काम गर्ने कमै देखिएका छन् । अब यो विपत्तिकाे घडीमा बालकदेखी वृद्धसम्म, नोकरदेखी मालिकसम्म, नागरिकदेखी सरकार प्रमुखसम्म सबैलाई तपाईँहरुको आवश्यक छ । तपाईँहरुले महानता देखाउने समय यही हो । आफू सुरक्षित भएर तपाईँहरुको बहादुरी प्रदर्शन गर्नुहोस् । युद्धको मैदानमा शत्रुलाई हेरेर काम गर्नुहोस् । परिवार तपाईँहरुको सहयोगी छ । एक दिन मर्नु छँदैछ तर हजुरहरुको महानताको सबैले कदर गर्नेछन् । त्यसैले समस्यासँग भागेर होइन सुरक्षाका विधि अपनाएर उच्च मनाेबलका साथ डटेर काम गर्नुहोस् । “हटि होइन डटी लड्ने नेपालीको बानी हुन्छ ।”
आदरणीय उद्योगी, व्यवसायी र व्यापारी ज्यूहरु, यही बेला हो नागरिकहरूले तपाईँहरुको महानता हेर्ने । संकटको घडीमा धेरै कमाएर के गर्नु हुन्छ ? पछिका दिनमा तपाईँहरुको व्यवसायको मुटु ग्राहकहरु राेग फैलन्छ कि भनेर राेकथाम र सुरक्षाका लागि विशेष परिस्थितमा छन् । यो अवस्थामा तपाईँहरुले कालाेबजारी र लाेभ देखाउने बेला विल्कुल हाेइन । यसको मतलब निःशुल्क दिनु भन्न खोजेको होइन । सक्नुहुन्छ यो समय निःशुल्क दिनुहोस् । सक्नुहुन्न कृपया धेरै मूल्य नलिनुहोस्, कालो बजारी नगरदिनुहोस्, सहयोगको भावना देखाइदिनुहोस् । मन्दिरमा पूजा गरेर धर्म कमाउनुको सट्टा तपाईँको महानता देखाइदिनु होस् यो बेला । तपाईको कल्याण हुनेछ । 
आदरणीय नेपाल प्रहरी र नेपाली सेना लगायत सुरक्षाकर्मी तपाईँहरुको कामको त खोइ कसरी प्रशंसा गर्नु । पाउरोटी र पानीको भरमा अहिले पनि तातो घाममा कुदिरहेको देख्छु । युद्ध, आतंक, झगडा, दुर्घटना, भुकम्प, महामारी सबैमा तपाईँहरु नै हो दिनरात खट्ने । महान् काम गर्ने तपाईँहरु नै । सानो गल्तीमा सजाय भोग्ने नी तपाईँहरु नै । तर पनि नआत्तिनुहोस् तपाईँहरुले पाप गर्नुभएको छैन, गल्ती गर्नेले सिक्छन् । तपाईँहरु महान हुनुहुन्छ । तपाईँहरुबिना सम्भव छैन यो युद्धमा । यो महामारी, युद्धको मैदान भन्दा भयावह हुने खालको छ । आशा छ तपाईँहरुले यस्तो हुन दिनुहुने छैन । शुभकामना छ सम्पूर्ण टिमलाई ।
एम्बुलेन्स चालक ज्यू, तपाईँहरु किन भागेको समाचार सुनिन्छ ? के चिन, इटाली, स्पेन, अमेरीकामा सबै एम्बुलेन्स चालक भागिरहेका छन् र ? परिवारलाई सम्झाउनुहोस् यो विश्वव्यापी संकट हो । आफूले सकेसम्म सावधानी अपनाउनुहोस् तर कदापी भाग्ने प्रयास नगरि दिनुहोला । यसो गरीदिनुभयो भने हामीमा एकता हुँदैन । अनि, राष्ट्रिय गीतले भनेको छ नी “सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली” एउटा राम्रो मालाबाट एउटा फूल नहुँदा कस्तो हुन्छ होला ? सोच्नुहोस्, नेपालीको मालालाई भत्काउने प्रयास नगर्नुहोस् । यो संकट सबै मिलेर टार्नुपर्छ । कुनै पनि हालतले एम्बुलेन्सको रफ्तारलाई नरोकिदिनुहोला । तपाईँको महान्तालाई सबैले सम्मान गर्नेछन् ।
सम्पूर्ण मजदुर, श्रमपक ज्यूहरु, यो संकट हो । लकडाउन र सरकारलाई गाली गर्ने प्रयास विल्कुल नगर्नुहोला । यो हाम्रै लागि हो । हामी हाम्रो देशमा मलामी बिनाको लाशमा डढेलो लागेको हेर्न चाँहदैनौँ । त्यसैले खान नपाउँदा नेपाली दाजुभाईसँग मागेर बाँडीचुडी खाउँ । बरु आधा पेट खाउँ केही हुन्न तर यो संकटमा सबैलाई साथ दिउँ नत्र हामी सबै त्यो डेढेलोमा तहसनहस हुनेछौँ । त्यसैले जे हुँदैछ राम्रैको लागि हुँदैछ । नियमलाई पालना गर्नुहोस् । संकटको समयमा ढीलो हुन सक्छ, सहयोग अवश्य पाउनुहुनेछ ।
सम्पूर्ण पत्रकार ज्यूहरु, सूचना सम्प्रेषण गर्नु त्यती सहज छैन यो परिस्थितीमा । त्यसैले यस्तो समयमा सन्देशमुलक, सत्य र तथ्यमा आधारीत भएर सूचनाको माध्यमबाट यो संकट टार्न विशेष भुमिका खेलीरहनुभएको छ र संकट नहटुन्जेल यसरी नै सहयोग गरीरहनुहोस् । यसबेला राज्य जोगाउन तपाईहरको खाँचो छ । यसलाई महान कार्य सम्झी आफ्नो महानता प्रदर्शन गर्नुहोस् शुभकामना ।
सम्पूर्ण विदेशमा रहनुहुने नेपाली दाजुभाईहरु, तपाईहरुको मेहनतको रेमिट्यान्सले अर्थतन्त्रमा गरेको योगदानको बयान गरेर त सकिन्न । अब त रेमिट्यान्सको अवस्था पनि संकटमा परिसक्यो । हाल तपाईँहरुको विदेशमा पनि अवस्था नाजुक होला तर यो अवस्था विश्वव्यापी सम्झी तपाईँहरुले त्यहाँबाट गर्न सक्ने सहयोग गर्नुहोला । यती बेला देशलाई सबैको खाँचो छ । विदेशमा संकटमा परेका नेपाली दाजुभाईलाई सहयोग गर्नुभयो भने पनि तपाईँहरुले गरेको त्यो भन्दा ठूलो सहयोग अरु हुन सक्दैन । तपाईँहरु परिवारबाट त टाढा हुनुहुन्छ, त्यसैले आफू सुरक्षित भएर बस्नुहोला । राज्यले हामीलाई सम्झिएन नभन्नुहोला । राज्य आफैँ संकटमा छ यो समय ।
सम्पूर्ण नेपाली नागरिक ज्यूहरु, यो संकटको घडीमा सबैभन्दा महत्वपूर्ण जिम्मेवारी तपाईँहरुको छ । राज्यको नीति नियमलाई पालना गर्नु नागरिकको महत्वपूर्ण कर्तव्य हो । तपाईँहरुले आ–आफ्नो ठाउँबाट राज्यलाई सहयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यो अहिले धेरैले लक डाउनको समयमा पालना गरिरहनु भएको छ । तर पनि साँझपख अत्यावश्यक सामग्री खरीदमा विभिन्न ठाउँमा देखीएको भिडभाडले डरमर्दो अवस्था आएको छ । तपाई हामी नागरीक सबैले यो महामारीलाई राम्ररी बुझ्ने हो भने यो महामारीको युद्धको विजय नजीकै छौँ । हामी, जसरी चिन विजय नजिक पुगेको छ । अर्को कुरा संविधानको धारा ४८ मा नागरीकको कर्तव्यमा उल्लेख भएको वाक्य “राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने” भन्ने जिम्मेवारीलाई कदापी भुल्नुहुँदैन । यस्तै परिस्थितीमा हो हामी नागरीकले राज्यलाई सेवा गर्ने । त्यही भएर हामी नागरीक कोही पनि विचलीत नभई राज्यले चाहेका बखत अनिवार्य सेवा गर्न तयारी भएर बसौँ । यसैमा हाम्रो देश र हामी नेपाली नागरिकको हित हुनेछ ।  
अन्त्यमा सबैले सबै ठाउँबाट सहयोग गर्ने हो भने देशमा ठूलो संकट निम्तिने छैन । त्यसैले आजैबाट आ–आफ्नो ठाउँबाट हामी सबै लाग्नु जरुरी छ । अरुको सम्झेर होइन, आफ्नो सम्झेर काम गरौँ । ठूलो संकट निम्तीनबाट देशलाई बचाउँ । संकटबाट भागेर होइन, यो विश्वव्यापी संकटलाई टार्न एकताबद्ध भएर काम गरौँ ।

Comments